﻿हबकूक.
3.
शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना। 
हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्! 
परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो। 
उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो। 
उहाँको अगाडि महामारी फैलिँदै गयो; उहाँको पछि-पछि रूढी लाग्यो। 
उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्। 
मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ। 
हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो? 
तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो; 
तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे। 
वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए। 
क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो। 
तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो। 
जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो। 
तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो। 
मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ। 
चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्। 
तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु। 
प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
