﻿नहूमको भविष्यवाणी.
1.
निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक। 
याहवेह डाही र बदला लिने परमेश्‍वर हुनुहुन्छ; याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ। 
याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँको मार्ग भुमरी र आँधीमा छ; अनि बादलहरू उहाँका पाउको धुलो हुन्। 
उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ। बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्, र लेबनानका फूलहरू ओइलिन्छन्। 
उहाँको सामु पर्वतहरू काँप्छन् र पहाडहरू पग्लिएर जान्छन्। उहाँको उपस्थितिमा पृथ्वी, संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्। 
उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र? उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ; उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्। 
याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ, 
तर उहाँले उर्लंदो बाढीले निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ। 
तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रोपल्ट फेरि आउनेछैन। 
तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्। 
हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने, र खराब सल्‍लाह दिने एक जना निस्केर आएको छ। 
याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनि अब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ। 
अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।” 
हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। म तेरा देवताहरूका मन्दिरमा भएका तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्।” 
हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने एउटा मानिसका पाउहरू, जसले शान्तिको प्रचार गर्दछ! हे यहूदा, तेरा चाडहरू मना, र आफ्ना भाकलहरू पूरा गर्। दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्। 
