﻿योनाको भविष्यवाणी.
1.
याहवेहको यो वचन अमित्तैका छोरो योनाकहाँ आयो: 
“त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।” 
तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे। 
तब याहवेहले समुद्रमा एउटा ठूलो बतास चलाइदिनुभयो; अनि यति भयानक आँधी चल्यो, कि त्यस प्रचण्ड आँधीको कारण जहाज नष्‍ट होलाझैँ भयो। 
तब सबै नाविकहरू डराए, र हरेकले आ-आफ्ना देवतालाई पुकार्न थाले। अनि तिनीहरूले जहाजलाई हलुङ्गो पार्न व्यापारका सरसामानहरू समुद्रमा फालिदिए। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, जहाँ तिनी ढल्के, र तिनी मस्त निद्रामा परे। 
जहाजको कप्‍तान तिनीकहाँ गएर भने, “तिमी कसरी सुत्न सकिरहेका छौ? उठ, आफ्ना ईश्‍वरलाई पुकार! सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ, र हामी नष्‍ट हुनेछैनौँ।” 
तब नाविकहरूले एक-अर्कालाई भने, “आउनुहोस्, हामी चिट्ठा हालौँ र यस विपत्तिको जिम्मेवार कोचाहिँ रहेछ भनेर पत्ता लगाऔँ।” तब तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाममा पर्‍यो। 
त्यसपछि तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि आएका यी सबै विपत्तिको जिम्मेवार को हो? तिमी के काम गर्छौ? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” 
तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” 
यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्‍यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्‍ने कुरा तिनीहरूले थाहा पाए।) 
समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?” 
तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।” 
तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो। 
त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्‍ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।” 
त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो। 
यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे। 
तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे। 
