﻿आमोस.
9.
मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो: “खम्बाका टुप्पाहरूमा हिर्का, ताकि सँघारहरू हल्‍लिऊन्। सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्; बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु। एकै जना पनि भाग्न पाउनेछैन; एउटै पनि उम्कन पाउनेछैन। 
तिनीहरू पातालको गहिराइसम्म गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई तल झार्नेछु। 
तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु। तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके तापनि त्यहाँ म तिनीहरूलाई डस्‍न सर्पहरूलाई आज्ञा दिनेछु। 
तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु। “म मेरो नजर तिनीहरूमाथि राख्नेछु, भलाइको निम्ति होइन, तर खराबीको निम्ति।” 
प्रभु, सेनाहरूका याहवेह, उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ; अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्; सारा देश नील नदीझैँ माथि उठ्नेछ, त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ; 
उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ, र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ; उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ, उहाँको नाम याहवेह हो। 
“के तिमी इस्राएलीहरू मेरा निम्ति कूशका सन्तानजस्ता छैनौ र?” याहवेहले घोषणा गर्नुहुन्छ। “के मैले इस्राएललाई इजिप्टबाट, पलिश्तीहरूलाई कप्‍तोरबाट, र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन? 
“निश्‍चय नै प्रभु याहवेहको दृष्‍टि यो दुष्‍ट राज्यमाथि छ। म यसलाई पृथ्वीको सतहबाट ध्वस्त गर्नेछु। तापनि म याकोबको घरानालाई सम्पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। 
“किनकि म आज्ञा दिनेछु, र इस्राएलको घरानालाई सबै राष्ट्रहरूका बीचमा यसरी हल्‍लाउनेछु, जसरी चाल्नीमा अन्‍नलाई चालिन्छ; तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्‍नेछैन। 
मेरा मानिसहरूका बीचमा भएका सबै पापीहरू तरवारले मारिनेछन्; तिनीहरू सबै जना, जसले यसो भन्छन्, ‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’ 
“त्यस दिन, “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु, 
ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,” याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ। 
याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्। 
म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, र ती सहरहरूमा बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्। 
म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु, मैले तिनीहरूलाई दिएको देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,” याहवेह तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ।
