﻿आमोस.
6.
धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसाथ बसेका छौ; अनि धिक्‍कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्‍कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्! 
कल्नेह सहरमा जाओ र त्यसलाई हेर; त्यहाँबाट हमात सहरमा जाओ; अनि तल पलिश्तीको गातमा जाओ। के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र? के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र? 
तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ, र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ। 
तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ, र सोफाहरूमा ढल्कन्छौ। तिमीहरू असल भेडाहरू र मोटा बाछाहरू खान्छौ। 
तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ। 
तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ, र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ, तर योसेफको विनाशमाथि शोक गर्दैनौ। 
यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ; तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ। 
प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ: “म याकोबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्‍लाहरूलाई घृणा गर्छु; म यस सहर र यसमा भएका सबैलाई शत्रुको हातमा सुम्पिदिनेछु।” 
यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्। 
यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्‍नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।” 
किनकि याहवेहले आज्ञा दिनुभएको छ; अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ। 
के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र? के कसैले समुद्रमा गोरुहरूले जोत्छ र? तर तिमीहरूले त न्यायलाई विषमा र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ, 
अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम सहरलाई कब्जा गरेका होइनौँ र?” 
किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु; त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै तिमीहरूमाथि अत्याचार गर्नेछ।” 
