﻿होशे.
9.
हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्‍वरप्रति विश्‍वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्। 
खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ। 
तिनीहरू याहवेहको देशमा बस्‍नेछैनन्; एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, र अश्शूरमा अशुद्ध भोजन खानेछ। 
तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; ती रोटी खाने सबै अशुद्ध हुनेछन्। त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; त्यो याहवेहको मन्दिरमा आउनेछैन। 
“तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्? 
यदि तिनीहरू विनाशबाट भागे तापनि इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्‍नुघारीले छोप्नेछ, र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ। 
इस्राएलले यो कुरा थाहा गरोस्, दण्डका दिनहरू आइरहेका छन्; प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। किनभने तेरा पापहरू अति धेरै छन्, तेरो शत्रुता धेरै भएको कारण तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको मानिसलाई बौलाहासरह ठान्छस्। 
अगमवक्ता मेरा परमेश्‍वरको साथसाथै एफ्राइमको पनि पहरेदार हो; तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो र त्यसका परमेश्‍वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ। 
तिनीहरू गेबाका दिनमा जस्तै, भ्रष्‍टाचारमा चुर्लुम्म डुबेका छन्। परमेश्‍वरले तिनीहरूको दुष्‍टता याद गर्नुहुनेछ, र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ। 
“जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्‌गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे। 
एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ। 
यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्‍कार! जब म तिनीहरूबाट टाढा जान्छु। 
मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।” 
हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्। 
“गिलगालमा तिनीहरूका सबै दुष्‍टताहरूको कारण मैले तिनीहरूलाई घृणा गरेँ। तिनीहरूका दुष्‍ट कामहरूको कारण म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्। 
एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।” 
मेरा परमेश्‍वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्। 
