﻿होशे.
6.
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ। 
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ। 
हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्‍चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।” 
“हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ। 
यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ। 
किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु। 
आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्। 
गिलाद दुष्‍ट मानिसहरूको सहर हो, र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ। 
जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्। 
मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ। 
“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, हे यहूदा, तेरो निम्ति पनि कटनीको समय तोकिएको छ। 
