﻿इजकिएल.
27.
याहवेहको यो वचन मकहाँ आयो: 
“हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा; 
समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।” 
तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए। 
तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्‍लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए। 
तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे। 
तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो। 
सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए। 
जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे। 
“ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए। 
अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे। 
“ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे। 
“ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे। 
“ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्‍चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे। 
“ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे। 
“ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्‍यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे। 
“ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्‍नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे। 
“ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्‍यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए। 
दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे। 
“ ‘ददानले तँसित जिनको व्यापार गर्‍यो। 
“ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे। 
“ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे। 
“ ‘हारान, कन्‍ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे। 
तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे। 
“ ‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ। 
तेरा नाविकहरूले तँलाई बीच समुद्रमा लैजान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रको बीचमा टुक्रा-टुक्रा पारिदिनेछ। 
तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; अनि तेरो सर्वनाशको दिन जहाजमा भएका सबै जना समुद्रको बीचमा डुबिजानेछन्। 
तेरा नाविकहरूले चीत्कार गर्दा समुद्र किनारका ठाउँहरू काम्नेछन्। 
पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्। 
तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्। 
तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्। 
तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?” 
तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्‍ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्। 
अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्‍ट भएका छन्। 
समुद्रको किनारमा बस्‍नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ। 
जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्‍ट हुनेछस्।’ ” 
