﻿इजकिएल.
26.
बाह्रौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा, याहवेहको वचन मकहाँ आयो: 
“हे मानिसको छोरा, टायरले यरूशलेमको विषयमा यसो भनेको कारण, ‘अहा! जाति-जातिहरूका मूलढोकाहरू भत्केका छन्, र त्यसका ढोकाहरू मेरो निम्ति खुल्‍ला भएका छन्; अहिले त्यो ध्वस्त भएकाले मेरो उन्‍नति हुनेछ।’ 
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे टायर, म तेरो विरुद्धमा छु; समुद्रले छालहरू उर्लाएझैँ म तेरो विरुद्धमा धेरै जातिहरूलाई उठाएर ल्याउनेछु। 
तिनीहरूले टायरका पर्खालहरू नष्‍ट गर्नेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्; म त्यसका धुलो खुर्केर त्यसलाई एउटा नाङ्गो चट्टान बनाइदिनेछु। 
समुद्रको बीचमा माछा पक्रन जाल फिँजाउने एउटा ठाउँ हुनेछ; किनकि मैले भनेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। त्यो जाति-जातिहरूका निम्ति लुटको माल हुनेछ; 
अनि त्यसको मुख्य भूमिमा भएका बस्तीहरू तरवारद्वारा ध्वस्त पारिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। 
“किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म टायरको विरुद्धमा उत्तर दिशाबाट राजाहरूका राजा, बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, घोडसवारहरू र ठूलो सेनाको साथ ल्याउनेछु। 
राजाले मुख्य भूमिमा तेरा बस्तीहरूलाई तरवारले ध्वस्त पार्नेछ; त्यसले तेरो विरुद्धमा घेरा-मचान खडा गर्नेछ, र तँलाई आक्रमण गर्नलाई तेरो विरुद्ध पर्खालमा माटोको ढिस्को खडा गर्नेछ। 
राजाले तेरा पर्खाल भत्काउनलाई रूखका ठूला-ठूला मुढाहरूले प्रहार गर्न लगाउनेछ, र तिनीहरूका हतियारहरूले तेरा धरहराहरू ढालिदिनेछ। 
त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनीहरूका धुलोले तँलाई छोपिदिनेछ। पर्खाल भत्किएको सहरभित्र मानिसहरू पसेझैँ त्यो तेरा मूलढोकाहरूमा प्रवेश गर्दा लडाइँका घोडाहरू, गाडाहरू र रथहरूको आवाजले गर्दा तेरा पर्खालहरू हल्‍लिनेछन्। 
त्यसका घोडाहरूका खुरहरूले तेरा सबै सडकहरू कुल्चनेछन्; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खम्बाहरू भुइँमा ढल्नेछन्। 
तिनीहरूले तेरा धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारका मालहरू खोसेर लैजानेछन्; तिनीहरूले तेरा पर्खालहरू भत्काइदिनेछन् र तेरा सुन्दर घरहरू भत्काउनेछन्; अनि तेरा ढुङ्गाहरू, काठहरू र रोडाहरू समुद्रमा फालिदिनेछन्। 
म तेरो कोलाहलपूर्ण गीतहरूको अन्त्य गरिदिनेछु, र तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्यै सुनिनेछैन। 
म तँलाई एउटा नाङ्गो चट्टान तुल्याइदिनेछु, र तँ माछा पक्रने जालहरू फैलाउने एउटा ठाउँ हुनेछस्। तँ कहिल्यै निर्माण हुनेछैनस्; किनकि म याहवेहले नै भनेको हुँ, प्रभु याहवेह भन्‍नुहुन्छ। 
“प्रभु याहवेह टायरलाई यसो भन्‍नुहुन्छ: टायरमा घाइतेहरूले सुस्केरा हाल्दा र काटमार हुँदा के तेरो पतनको आवाजमा समुद्र किनारका देशहरू काम्दैनन् र? 
तब समुद्र किनारका सबै राजकुमारहरू आ-आफ्ना सिंहासनबाट तल ओर्लनेछन्, र तिनीहरूले आ-आफ्ना लबेदाहरू एकातिर छोड्नेछन् र आफ्ना बुट्टेदार वस्त्रहरू फुकाल्नेछन्। तँलाई देखेर त्रासले तिनीहरू थरथर काम्दै भुइँमा बस्‍नेछन्। 
तब तिनीहरूले तेरो बारेमा एउटा विलाप गीत गाउनेछन् र तँलाई भन्‍नेछन्: “ ‘हे प्रसिद्ध सहर, समुद्रका मानिसहरूले भरिएकी सहर, तँ कसरी सर्वनाश भइस्! समुद्रमा तँ एक शक्ति थिइस्, तँ र तेरा नागरिकहरू; तैँले त्यहाँ बस्‍नेहरू सबैमाथि तेरो आतङ्क फैलाइस्। 
अब तेरो पतनको दिनमा समुद्र किनारमा भएका देशहरू काम्छन्; तेरो पतन हुँदा समुद्रका टापुहरू भयभीत भएका छन्।’ 
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब मैले तँलाई एउटा उजाड सहर, कहिल्यै मानिस नबसेको सहरजस्तै बनाएको छु, र जब म गहिरो समुद्र उर्लाएर तँमाथि ल्याउँछु, र त्यसको विशाल पानीले तँलाई छोप्छु, 
तब म तँलाई तल खाडलमा जानेहरूसित ती पहिले मरेका मानिसहरूकहाँ तल ल्याउनेछु। म तँलाई प्राचीन कालका भग्नावशेषहरूमा जस्तै, तल खाडलमा जानेहरूसँगै पृथ्वीको तल्‍लो भागमा बस्‍न लगाउनेछु; अनि तँ त्यहाँबाट फर्कनेछैनस्, जीवितहरूको देशमा तेरो ठाउँ लिनेछैनस्। 
म तँलाई डरलाग्दो अन्त्यमा ल्याउनेछु र फेरि तेरो अस्तित्व हुनेछैन। तँ खोजिनेछस्, तर फेरि कहिल्यै भेट्टाइनेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” 
