﻿इजकिएल.
23.
याहवेहको वचन मकहाँ आयो: 
“हे मानिसको छोरा, दुई स्त्रीहरू थिए, जो एउटै आमाका छोरीहरू थिए। 
तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए। 
जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो। 
“ओहोला मेरी पत्नी भए तापनि वेश्यावृत्तिको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको कामुकतामा वेश्यावृत्ति गरिरही—अश्शूरका वीर योद्धाहरूको मोहमा परी। 
निलो रङ्गका वस्त्र पहिरेका राज्यपालहरू, सेनापतिहरू, सबै सुन्दर-सुन्दर जवान केटाहरू र घोडामा सवारहरू थिए। 
त्यसले आफूलाई अश्शूरका सबै विशिष्‍ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी। 
न त त्यसले इजिप्टबाट सुरु गरेकी वेश्यावृत्तिलाई छोडी। त्यसको युवावस्थामा मानिसहरू त्यससँग सुते; तिनीहरूले त्यसको कुमारी स्तन माडेका थिए र तिनीहरूका कामुकता त्यसमाथि पोखाएका थिए। 
“यसकारण मैले त्यसलाई त्यसका प्रेमीहरू, अर्थात् अश्शूरहरूकहाँ सुम्पिदिएँ, जसप्रति त्यो कामुकताले मोहित भएकी थिई। 
तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्‍लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो। 
“त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्‍ट भई। 
त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए। 
तब मैले देखेँ, त्यसले पनि आफूलाई अपवित्र पारी; ती दुवै दिदीबहिनी एउटै चालमा हिँडे। 
“तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका चित्र रङ्गिएका देखी, 
जसका कम्मरका वरिपरि पेटी बाँधिएका र तिनीहरूका शिरमा बाँधिएका फेटाहरू, जो सबै बेबिलोनी रथका अधिकारीहरूजस्ता देखिन्थे; ती कल्दी देशवासीहरू थिए। 
ओहोलीबाले तिनीहरूलाई देख्नेबित्तिकै त्यो तिनीहरूको मोहमा परी र त्यसले कल्दीमा तिनीहरूकहाँ दूतहरू पठाई। 
तब बेबिलोनीहरू त्यसकहाँ आए, र तिनीहरू प्रेमको ओछ्यानमा सहवासको लागि आए; अनि तिनीहरूका कामुकतामा तिनीहरूले त्यसलाई अशुद्ध पारे। अनि तिनीहरूद्वारा अशुद्ध पारिएपछि त्यसको मन तिनीहरूबाट टाढियो। 
जब त्यसले खुल्‍लमखुल्‍ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ। 
तर त्यसले आफ्नो युवावस्थाका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा त्यसले इजिप्टमा वेश्याको काम गरेकी थिई, त्यसले आफ्ना वेश्याकर्महरू झन्-झन् बढाई। 
त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो। 
यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए। 
“यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्‍याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु; 
अनि बेबिलोनीहरू र सबै कल्दीहरू, पेकोदका मानिसहरू, शोअ र कोअका मानिसहरू, तिनीहरूसित भएका सबै अश्शूरीहरू, आकर्षक जवान मानिसहरू, राज्यपालहरू र सेनापतिहरू, रथका अधिकारीहरू र उच्‍च पदाधिकारीहरू, सबै घोडसवार गर्नेहरू सबैलाई ल्याउनेछु। 
तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्। 
म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्। 
तिनीहरूले तेरा वस्त्रहरू खोलेर नाङ्गै पार्नेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्। 
यसरी म तैँले इजिप्टमा सुरु गरेको तेरो कामुकता र वेश्यावृत्ति रोक्नेछु। तैँले यी कुराहरूका चाहना गर्नेछैनस्, अथवा इजिप्टलाई कहिल्यै याद गर्नेछैनस्। 
“किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई तिनीहरूकहाँ सुम्पन लागेको छु, जसलाई तँ घृणा गर्छेस्, जससँग तँ घृणामा अलग भएकी थिइस्। 
तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा, 
यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्। 
तँ आफ्नी दिदी ओहोलाको बाटोमा हिडेकी छस्; यसैकारण म त्यसको दण्डको कचौरा तेरो हातमा दिनेछु। 
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “तैँले तेरो दिदीको दण्डको कचौरा पिउनेछेस्, ठूलो र गहिरो दण्डको कचौरा; यसले गिल्‍ला र अपमान ल्याउनेछ; किनकि कचौरामा धेरै मात्रामा अटाउँछ। 
तँ दण्डको कचौराले मात्तिनेछेस् र दुःख-कष्‍टले भरिनेछेस्, तेरी दिदी सामरियाको दण्डको कचौरा, डरलाग्दो सर्वनाश र उजाड अवस्थाको कचौरा हो। 
तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्, र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्; अनि आफ्ना स्तनहरू लुछ्नेछेस्। मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 
“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।” 
याहवेहले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे; 
किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूको हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसँग व्यभिचार गरेका छन्; तिनीहरूले मेरा निम्ति जन्माएका आफ्ना सन्तानलाई समेत ती मूर्तिहरूको भोजनको रूपमा बलिदान गरेका छन्। 
तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारेका छन्। 
तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्। 
“तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्। 
तँ एउटा टेबुलको सामु राखिएको सुन्दर सोफामा बसिस्, जुन टेबुलमाथि तैँले मेरो धूप र जैतुनको तेल राखिस्। 
“त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए। 
तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’ 
अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते। 
तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ। 
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूको विरुद्धमा एउटा भीड ल्याओ; अनि तिनीहरूलाई लुट र आतङ्कको निम्ति सुम्पिदेओ। 
भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूका तरवारले तिनीहरूलाई काटेर ढालिदिनेछन्; सेनाहरूले ओहोला र ओहोलीबाहरूका सन्तानलाई मार्नेछन्; अनि तिनीहरूका घरहरू जलाइदिनेछन्। 
“यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्‍ने चेतावनी सबै स्त्रीहरूले पाऊन्। 
तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछस्।” 
