﻿विलाप.
3.
याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ। 
उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ; 
वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ। 
उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ। 
उहाँले मलाई तितोपना र कष्‍टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ। 
उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ। 
म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ। 
मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो। 
उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ। 
आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै 
उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो। 
उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो। 
उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो। 
म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु। 
उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो। 
उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो। 
मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु। 
यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” 
म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु। 
म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ। 
तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ: 
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। 
हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ। 
म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” 
याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; 
याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। 
आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ। 
त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ। 
त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्। 
उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्। 
किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन। 
उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ। 
किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न। 
यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा, 
सर्वोच्‍च परमेश्‍वरको सामु मानिसको अधिकार खोसिँदा, 
र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र? 
प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ? 
के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र? 
जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु? 
हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ। 
हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्‍वरतिर उचालौँ र भनौँ: 
“हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन। 
“तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो। 
तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्। 
तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ। 
“हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्। 
हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।” 
मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्। 
मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ, 
जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न। 
मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु। 
मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे। 
तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने; 
पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो। 
हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ। 
तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!” 
मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा!” 
हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो। 
हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्! 
तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ। 
हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ; 
मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ। 
तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्। 
हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्। 
तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्! 
हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्! 
