﻿यर्मिया.
47.
फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो: 
याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्, 
दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा वेगसित दगुर्ने शत्रुहरूका रथहरूका चक्‍काका गडगडाहट सुनेर आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्; तिनीहरूका हातहरू लुला हुनेछन्। 
किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ। याहवेहले कप्‍तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ। 
गाजाले शोकमा आफ्नो कपाल खौरनेछ; अश्कलोन मौन हुनेछ। हे तराईका अवशेष हो, तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?” 
रुँदै तैँले भन्‍नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’ 
तर यो कसरी शान्त बस्‍न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।” 
