﻿यर्मिया.
30.
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 
“याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्। 
हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्‍नुहुन्छ।” 
इस्राएल र यहूदाको बारेमा याहवेहले भन्‍नुभएको कुराहरू यिनै हुन्: 
याहवेह यसो भन्‍नुहुन्छ: “डराएकाहरूका चीत्कार सुनिँदैछ— त्रासको चीत्कार, शान्तिको होइन। 
अहिले सोध र हेर: के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ? त्यसो भए किन म हरेक बलियो पुरुषले सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको, र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु? 
हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ। 
“ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्। 
त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्, जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु। 
“ ‘यसकारण हे मेरो सेवक याकोब, नडरा; हे इस्राएल, हताश नहो,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट र तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ; अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन। 
म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ; म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’ 
“याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तेरो चोट निको नहुने खालको छ; तेरो घाउ पीडादायी छ। 
तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन। 
तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्। मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु; अनि निष्‍ठुरीले झैँ तँलाई दण्ड दिएको छु; किनकि तेरो अपराध अति ठूलो र तेरा पापहरू अति धेरै छन्। 
तँ आफ्नो घाउले गर्दा र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्? तेरो ठूलो अपराध र धेरै पापहरूका कारण मैले तँसँग यी कुराहरू गरेको हुँ। 
“ ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्; तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्। तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्; तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु। 
तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ, सियोन, जसको कसैले वास्ता गर्दैन।’ 
“याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हेर, म याकोबको पालको सुख-शान्ति पुनर्स्थापित गर्नेछु, र त्यसको वासस्थानमाथि दया देखाउनेछु; त्यो सहर त्यसकै भग्नावशेषमाथि पुनर्निर्माण हुनेछ; अनि राजमहल पहिलेकै आफ्नै स्थानमा खडा हुनेछ। 
तिनीहरूबाट धन्यवादका स्तुतिगान र आनन्दको सोर निस्कनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु; अनि तिनीहरू घट्नेछैनन्; म तिनीहरूलाई आदर दिनेछु; अनि तिनीहरू अपहेलित हुनेछैनन्। 
तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्; अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ; तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु। 
तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ; तिनीहरूको शासक तिनीहरूमध्येबाट खडा हुनेछ। म त्यसलाई मेरो नजिक ल्याउनेछु र त्यो मेरो नजिक आउनेछ; किनकि आफैँले साहस गरेर को मेरो नजिक आउनसक्छ र?’ याहवेह घोषणा गर्नुहुन्छ। 
‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ; अनि म तिमीहरूले सेवा गर्ने परमेश्‍वर हुनेछु।’ ” 
हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्‍टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ। 
जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नुहुन्‍न, तबसम्म उहाँको भयानक रिस शान्त हुनेछैन। आउने दिनहरूमा तिमीहरूले यो कुरा बुझ्नेछौ। 
