﻿यर्मिया.
18.
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 
“तल कुमालेको घरमा जा, र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु।” 
यसकारण म कुमालेको घरमा गएँ; अनि मैले उसलाई आफ्नो चक्‍कामा काम गरिरहेको देखेँ। 
तर उसले बनाइरहेको भाँडा, उसको हातमा बिग्रियो; यसकारण त्यस कुमालेले त्यसबाट आफूलाई मन लागेअनुसार फेरि त्यस्तै अर्को भाँडा बनायो। 
तब याहवेहको वचन मकहाँ आयो। 
उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु। 
यदि कुनै समयमा मैले कुनै राष्ट्र अथवा राज्यलाई उखेलिदिन्छु; पतन र नाश गरिदिन्छु भनी घोषणा गरुँला, 
तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्‍ट कामबाट पश्‍चात्ताप गर्‍यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ। 
अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला, 
तर यदि त्यस राष्ट्रले मेरो दृष्‍टिमा दुष्‍टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु। 
“यसकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: हेर! म तिमीहरूका निम्ति विपत्ति तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा योजना बनाउँदैछु। यसकारण तिमीहरू हरेक आफ्नो दुष्‍ट कामबाट फर्क; अनि तिमीहरूका चालहरू र तिमीहरूका कामहरू सुधार।’ 
तर तिनीहरूले जवाफ दिनेछन्, ‘हामीलाई कुनै फाइदा छैन। हामी हाम्रा आफ्नै युक्तिमा लागिरहनेछौँ; हामी सबै आफ्नै हृदयको हठीपनाको पछि लागिरहनेछौ।’ ” 
यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “राष्ट्र-राष्ट्रहरूकहाँ गएर सोधपुछ गर: कसैले यस्तो कुरा कुनै दिन सुनेको छ? कुमारी इस्राएलले अति घृणित वा डरलाग्दो काम गरेकी छे। 
के लेबनानको चट्टानी भिरमा कहिल्यै हिउँ बिलाउँछ र? के टाढाको मुहानबाट आएको चट्टानको चिसो पानी कहिल्यै बग्न छोड्छ र? 
तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्। 
तिनीहरूको देश उजाड पारिनेछ, र त्यो सदासर्वदा हाँसोको पात्र बन्‍नेछ; त्यसबाट भएर हिँड्ने सबै तर्सनेछन्, र तिनीहरूले आफ्ना टाउको हल्‍लाउनेछन्। 
पूर्वबाट आएको बतासझैँ, म तिनीहरूलाई तिनीहरूका शत्रुहरूबीच छरपस्ट पारिदिनेछु; तिनीहरूका विपत्तिका दिनहरूमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठिउँ फर्काइदिनेछु।” 
तिनीहरूले भने; “आओ, हामी यर्मियाको विरुद्धमा योजना बनाऔँ; किनकि न पुजारीद्वारा सिकाइने व्यवस्था न त बुद्धिमान्‌को सल्‍लाह, न त अगमवक्ताहरूबाट आउने वचनको नै अभाव हुनेछ। यसैले आओ हामी त्यसको विरुद्धमा युक्ति रचौँ, र त्यसले भनेको कुनै पनि कुरामा ध्यान नदिऔँ।” 
हे याहवेह, मेरा कुरामा ध्यान दिनुहोस्; मेरा शत्रुहरूले के भनिरहेका छन्, सो कुरा सुन्‍नुहोस्! 
के भलाइको सट्टा खराबी गरिन्छ? तर तिनीहरूले त मेरो निम्ति एउटा खाडल खनेका छन्। म तपाईंको सामु उभिएर, तिनीहरूबाट तपाईंको क्रोध हटाउनलाई तिनीहरूको पक्षमा मैले तपाईंको सामु बिन्ती गरेको कुरा स्मरण गर्नुहोस्। 
यसकारण तिनीहरूका छोराछोरीहरूलाई अनिकालमा सुम्पिदिनुहोस्; तिनीहरूलाई तरवारको शक्तिमा सुम्पिदिनुहोस्। तिनीहरूका पत्नीहरू निःसन्तान र विधवा होऊन्; तिनीहरूका मानिसहरू लडाइँमा मारिऊन्; तिनीहरूका जवान मानिसहरू लडाइँमा तरवारद्वारा मारिऊन्। 
जब तपाईंले तिनीहरूको विरुद्धमा अचानक आक्रमण गर्नेहरू ल्याउनुहुन्छ, तिनीहरूका घरहरूबाट चीत्कारको सोर सुनियोस्; किनकि तिनीहरूले मलाई फसाउन एउटा खाडल खनेका छन्; अनि मेरा खुट्टाहरूका निम्ति पासो थापेका छन्। 
तर हे याहवेह, मलाई मार्ने तिनीहरूका सबै षड्यन्त्रहरू तपाईंलाई थाहा छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटाउनुहोस्। तिनीहरू तपाईंको सामु परास्त होऊन्; तपाईंको क्रोधमा तिनीहरूसित उचित व्यवहार गर्नुहोस्। 
