﻿यर्मिया.
14.
खडेरीको बारेमा यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 
“यहूदा विलाप गर्छ, त्यसका सहरहरू कमजोर भएका छन्; तिनीहरू देशका निम्ति विलौना गर्छन्; अनि यरूशलेमका मानिसहरूको चीत्कार आकासिन्छ। 
कुलिन मानिसहरूले आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्; तिनीहरू कुवामा जान्छन्, तर पानी भेट्टाउँदैनन्। तिनीहरू आफ्ना गाग्राहरू रित्तै लिएर, लज्जित र हतोत्साहित भएर, आफ्ना शिरहरू ढाकेर फर्कन्छन्। 
देशमा वर्षा नभएको कारण जमिन चर्केर चिरा-चिरा परेको छ; किसानहरू निराश भएका छन्, र तिनीहरूले आफ्ना शिर ढाकेका छन्। 
घाँस नभएको कारणले मैदानको मुडुली मृगले समेत आफ्नो बच्‍चालाई छोडिदिन्छे। 
जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन् र स्यालहरूजस्तै स्याँ-स्याँ गर्दै सास फेर्छन्; घाँस खान नपाएको कारण तिनीहरूले राम्रोसँग देख्न सक्दैनन्।” 
हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिए तापनि हे याहवेह, तपाईंको नामको खातिर हामीलाई सहायता गर्नुहोस्। किनकि हामीले तपाईंको विरुद्धमा बारम्बार पाप गरेका छौँ; हामीले धेरै अपराधहरू गरेका छौँ। 
हे याहवेह, तपाईं इस्राएलको आशा हुनुहुन्छ, सङ्कष्‍टको समयमा इस्राएलको उद्धारकर्ता, एक रातको लागि मात्र बास बस्‍ने यात्रीजस्तै, तपाईं किन यस देशमा एक परदेशीजस्तो हुनुहुन्छ? 
तपाईं किन अचम्ममा परेको मानिसजस्तै, बचाउन नसक्ने शक्तिहीन योद्धाजस्तै हुनुहुन्छ? हे याहवेह, तपाईं हाम्रा बीचमा हुनुहुन्छ, र हामी तपाईंको नामले चिनिएका प्रजा हौँ; हामीलाई नत्याग्नुहोस्! 
यस जातिको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू बाटो बिराएर हिँड्न साह्रै मन पराउँछन्; तिनीहरूले आफ्ना खुट्टाहरूलाई वशमा राख्दैनन्। यसकारण याहवेहले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न; अब उहाँले तिनीहरूका दुष्‍टतालाई सम्झनुहुन्छ, र तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिनुहुनेछ।” 
तब याहवेहले मलाई भन्‍नुभयो, “यी मानिसहरूको भलाइको निम्ति प्रार्थना नगर्। 
तिनीहरूले उपवास बसे तापनि म तिनीहरूको विलौना सुन्‍नेछैन; तिनीहरूले होमबलि र अन्‍नबलि चढाए तापनि म खुशी हुनेछैन। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले नाश गर्नेछु।” 
तर मैले भनेँ, “हे, प्रभु याहवेह! अगमवक्ताहरूले तिनीहरूलाई यसो भनिरहेका छन्, ‘तिमीहरूले तरवार र अनिकाल देख्नेछैनौ। अवश्य नै याहवेह परमेश्‍वरले तिमीहरूलाई यस ठाउँमा अनन्तको शान्ति दिनुहुनेछ।’ ” 
तब याहवेहले मलाई भन्‍नुभयो, “ती अगमवक्ताहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। मैले न तिनीहरूलाई पठाएको हुँ, न त नियुक्त नै गरेको हुँ, न त तिनीहरूसँग नै बोलेको छु। तिनीहरूले तिमीहरूसँग आफ्नै मनका झूटा दर्शनहरू, तन्त्रमन्त्रहरू, मूर्तिपूजाहरू र मनका भ्रमात्मक कुराहरू अगमवाणी गरिरहेका छन्। 
यसकारण याहवेहले उहाँको नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरूले यसो भनिरहेका छन्, ‘यस देशलाई कुनै तरवारले अथवा अनिकालले छुनेछैन।’ यसकारण ती अगमवक्ताहरू तरवार र अनिकालले नाश हुनेछन्। 
अनि ती झूटा अगमवक्ताहरूले अगमवाणी गरिरहेका मानिसहरू अनिकाल र तरवारको कारण यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्। तिनीहरू, तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई गाड्ने कोही पनि हुनेछैनन्। म तिनीहरूले भोग्नुपर्ने विपत्ति तिनीहरूमाथि खन्याइदिनेछु। 
“तैँले तिनीहरूलाई यो वचन भन्‍नू: “ ‘मेरा आँखाबाट आँसुको धारा नथामियोस् र मेरो आँसु दिनरात बगिरहोस्; किनकि मेरो जातिको कुमारी छोरीलाई, गहिरो चोट लागेको छ, र ठूलो चोट लाग्ने प्रहार भएको छ। 
यदि म देशभित्र गएँ भने, म तरवारद्वारा मारिएकाहरूलाई देख्छु; यदि म सहरभित्र गएँ भने, म अनिकालले पीडित मानिसहरूलाई देख्छु। अगमवक्ता र पुजारी दुवै, तिनीहरूले नचिनेको देशमा गएका छन्।’ ” 
हे परमेश्‍वर, के तपाईंले यहूदालाई पूर्ण रूपले त्याग्नुभएको छ? के तपाईंले सियोनलाई तुच्छ ठान्‍नुहुन्छ? किन तपाईंले हामीलाई निको नहुने गरी यति धेरै घाइते पार्नुभएको छ? हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन; निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्कित मात्र भएका छौँ। 
हे याहवेह, हामी आफ्ना दुष्‍टता र हाम्रा पितापुर्खाहरूका अपराधहरू जान्दछौँ; साँच्‍चै नै हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। 
तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्; तपाईंको महिमित सिंहासनको अपमान नगर्नुहोस्। हामीसँग गर्नुभएको तपाईंको करार सम्झनुहोस्, र त्यस करारलाई नतोड्नुहोस्। 
के जातिहरूका कामै नलाग्ने मूर्तिहरूले वर्षा ल्याउन सक्छन् र? के आकाशहरू आफैँले झरी पठाउन सक्छन् र? यस्तो हुन सक्दैन, हे याहवेह, अथवा हाम्रा परमेश्‍वर तपाईंले मात्र यस्तो गर्न सक्नुहुन्छ। यसकारण हाम्रो आशा तपाईंमा छ; किनकि यी सबै कुराहरू गर्नुहुने तपाईं नै हुनुहुन्छ। 
