﻿यर्मिया.
10.
हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन। 
उहाँले तिमीहरूलाई यसो भन्‍नुहुन्छ: “अरू राष्ट्रहरूका मार्गहरू नसिक, अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ; यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्। 
किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्; तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्; अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ। 
तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्; हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्, ताकि त्यो यताउता नहल्‍लिओस्। 
काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ, तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्; किनकि ती हिँड्न सक्दैनन्। ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ। तिनीहरूदेखि नडराओ; तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्, न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।” 
हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन; तपाईं महान् हुनुहुन्छ; अनि तपाईंको नाम महान् र शक्तिशाली छ। 
हे राष्ट्रहरूका राजा, तपाईंसँग कोचाहिँ डराउँदैन र? किनकि तपाईं आदरयोग्य हुनुहुन्छ। राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूमा तपाईंजस्तो अरू कोही छैन। 
तिनीहरू सबै विवेकहीन र मूर्ख छन्; तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्। 
मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र उपाजबाट सुन ल्याइन्छ। शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ; अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ। ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्। 
तर याहवेह सत्य परमेश्‍वर हुनुहुन्छ; उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ। जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ; राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्। 
“तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ” 
तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो; र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो। 
जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ; अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ। 
हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन। 
ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्। 
उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो। 
हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो, देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल। 
किनकि याहवेह यसो भन्‍नुहुन्छ: “यसै समयमा म यस देशमा बस्‍नेहरूलाई झटारो हानेर निकालिदिनेछु; म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।” 
मेरो चोटको खातिर मलाई धिक्‍कार छ! मेरो चोट निको नहुने किसिमको छ! तापनि मैले आफूलाई भनेँ, “यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।” 
मेरो पाल भत्काइएको छ; पालका सबै डोरीहरू चुडाइएका छन्। मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन; अब मेरो पाल टाँगिदिने अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन। 
गोठालाहरू विवेकहीन भएका छन्, र तिनीहरू याहवेहको खोजी गर्दैनन्; यसैकारण तिनीहरू सफल हुँदैनन्; अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्। 
सुन! यस्तो खबर आइरहेको छ, उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ! यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ, र स्यालहरूका ओडार बनाउनेछ। 
हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन; तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्। 
हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार, तपाईंको रिसमा चाहिँ होइन; नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ। 
तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्, जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्; ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्। किनकि तिनीहरूले याकोबलाई निलेका छन्; तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्; अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्। 
