﻿यर्मिया.
9.
अहो, यदि मेरो शिर पानीको मूल र मेरा आँखाहरू आँसुका फोहरा भएको भए! मेरा मारिएका मानिसहरूका निम्ति म दिनरात रुनेथिएँ। 
अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्‍ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्‍वासघाती मानिसहरूको भीड हो। 
“तिनीहरूले झूट बोल्नका लागि आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्; देशमा तिनीहरू सत्यताद्वारा विजयी भएका होइनन्। तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्; तिनीहरूले मलाई जान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। 
“तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्। 
एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्। 
तँ छलीहरूको बीचमा बस्छस्; तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्‍वरको रूपमा स्वीकार गर्न मान्दैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। 
यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र? 
तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।” 
याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?” 
म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु; अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु। ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्; अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन। आकाशका चराहरू सबै उडेर गइसकेका छन् र जनावरहरू पनि गइसकेका छन्। 
“म यरूशलेमलाई भग्नावशेषको थुप्रो र स्यालको ओडार बनाउनेछु; अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर म यहूदालाई उजाड पारिदिनेछु।” 
व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ? 
याहवेहले भन्‍नुभयो, “मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे। 
बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।” 
यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु। 
म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।” 
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ; तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ। 
तिनीहरू चाँडै आऊन्, र हाम्रा आँखाबाट आँसुका भलहरू र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म हाम्रा निम्ति विलाप गरिदेऊन्। 
सियोनबाट विलापको सोर सुनिँदैछ: हामी कसरी नष्‍ट भएका छौँ! हामी साह्रै लज्जित छौँ! हामीले आफ्नो देश छोड्नैपर्छ; किनकि हाम्रा घरहरू नष्‍ट भएका छन्।” 
तर हे स्त्रीहरू, याहवेहको वचन सुन; उहाँको मुखको वचन सुन्‍न आफ्ना कानहरू खोल। आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ; एक-अर्कालाई विलापको गीत सिकाइदेओ। 
मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र हाम्रा किल्‍लाहरूमा पसेको छ; यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट र जवानहरूलाई चोक-चोकबाट नष्‍ट गरेको छ। 
तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ: “ ‘मानिसहरूका लासहरू खुला मैदानमा मलझैँ छरिएका हुनेछन्; तिनीहरू कटनी गर्नेले छोडेको अन्‍नझैँ हुनेछन्। ती छोडिएको अन्‍नहरू कसैले बटुल्ने छैन।’ ” 
याहवेह यसो भन्‍नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्, बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्, र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्; 
तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्: कि त्यससँग मलाई चिन्‍ने समझशक्ति छ; म याहवेह हुँ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्दछु; किनकि यिनै कुराहरूमा म प्रसन्‍न हुन्छु,” याहवेह घोषणा गर्नुहुन्छ। 
याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु; 
अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्‍ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।” 
