﻿यर्मिया.
6.
“हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्‍केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ। 
सियोनकी छोरी, जो सुन्दरी र कोमल छे, म त्यसलाई नाश गर्नेछु। 
गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।” 
“यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ। 
यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!” 
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “रूखहरू काटेर ढालिदेओ, र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ। यो सहरले दण्ड पाउनैपर्छ; यो सहर अत्याचारले भरिएको छ। 
जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्‍टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्। 
हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।” 
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्‌गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।” 
म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ? मेरो कुरा कसले सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्। याहवेहको वचन तिनीहरूलाई मन पर्दैन; तिनीहरू वचन सुन्‍नै चाहँदैनन्। 
यसकारण म याहवेहको क्रोधले भरिएको छु; अनि म यसलाई थामिराख्न सक्दिनँ। “यसलाई सडकमा भएका केटाकेटीहरू र एकसाथ भेला भएका जवान मानिसहरूमाथि; पति र पत्नी दुवै, र वृद्धहरूमाथि खन्याइदेओ। 
जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। 
“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्। 
तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्। 
के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्; जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,” याहवेह भन्‍नुहुन्छ। 
याहवेह यसो भन्‍नुहुन्छ: “चौबाटोमा उभिएर हेर, र प्राचीन मार्गको बारेमा सोध; त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड, तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’ 
मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्‍नेछैनौँ।’ 
यसकारण हे राष्ट्रहरू हो, सुन; हे साक्षीहरू हो, तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर। 
हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे। 
शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।” 
यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्।” 
याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्‍याइरहेको छ। 
तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।” 
हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ। 
खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्‍डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ। 
हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ। 
“मैले तँलाई धातु जाँच्ने वस्तु र मानिसहरूलाई कच्‍चा धातु बनाएको छु, ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्न र तिनीहरूका मार्गहरू जाँच गर्न सक्। 
तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्‍ट चालहरूमा चल्दछन्। 
आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्‍ट छन्, कि तिनीहरूबाट दुष्‍ट्याइँ हटाउन सकिँदैन। 
तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।” 
