﻿यशैया.
58.
“उच्‍च सोरले करा, चुप लागेर नबस्। तुरहीको जस्तै तेरो सोर उचाल्। मेरो प्रजालाई तिनीहरूका विद्रोह र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे। 
किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; तिनीहरू जे ठिक छ, त्यही गर्ने र आफ्ना परमेश्‍वरको आज्ञा नत्याग्ने, तर मेरा मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, र परमेश्‍वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्। 
तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ, तपाईंले किन त्यो देख्नुहुन्‍न? हामीले आफूलाई नम्र तुल्यायौँ, तपाईंले किन ध्यान दिनुहुन्‍न?’ “तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ, र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ। 
तिमीहरूका उपवास वाद-विवाद, झगडा र हात हालाहालमा टुङ्गिन्छ। यस प्रकारको उपवास बस्दा तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन। 
के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्‍ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ? 
“मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र? 
के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र? 
जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ। 
जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्‍नुहुनेछ। “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, एक-अर्कालाई दोष लगाउने काम र दुष्‍ट कुरा त्यागिदियौ भने, 
यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ। 
याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्‍त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ। 
तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ। 
“यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ दिन उल्‍लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथ दिनलाई प्रसन्‍नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्‍यौ भने, 
तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ। 
