﻿यशैया.
56.
याहवेह यसो भन्‍नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ। 
त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथ दिनलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।” 
याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!” 
किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मेरा शब्बाथ दिनहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्‍ने, र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति— 
तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु। 
आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथ दिनलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू— 
तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।” 
इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।” 
हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ! 
इस्राएलका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबैमा ज्ञानको अभाव छ; तिनीहरू सबै भुक्न नसक्ने लाटा कुकुरहरूजस्ता छन्; जो पल्टिरहने र सपना देख्नेहरू हुन्, र तिनीहरू सुत्न मात्र रुचाउँछन्। 
तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; सबै आफ्नै बाटो लाग्ने र आफ्नै लाभ खोज्नेहरू हुन्। 
प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।” 
