﻿यशैया.
54.
“हे बाँझी स्त्री, गीत गा! तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; आनन्दसाथ र चर्को सोरमा करा; तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्; किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीको भन्दा धेरै छन्,” याहवेह भन्‍नुहुन्छ। 
“तेरो पालको ठाउँ बढा, आफ्नो पालको पर्दाहरू तन्का, बाँकी नराख्; तेरा डोरीहरू लामो पार्, तेरा किलाहरू बलियो पार्। 
किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्। 
“नडरा, तँ शर्ममा पर्नेछैनस्। अपमानसित नडरा, तँ होच्याइनेछैनस्। तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्; अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्। 
किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो; इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ; उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ। 
तेरा परमेश्‍वर भन्‍नुहुन्छ, त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ। 
केही समयको लागि मैले तँलाई त्यागेको थिएँ, तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु। 
रिसको झोँकमा मैले आफ्नो अनुहार केही समयको निम्ति तँदेखि लुकाएँ; तर अनन्तको करूणासहित म तँमाथि कृपा देखाउनेछु” याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ। 
“यो मेरो निम्ति नोआको समयजस्तै हो; किनभने नोआका समयमा पानीजस्तै फेरि पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु। यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ; तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु। 
पहाडहरू हल्‍लाइए र डाँडाहरू हटाइए तापनि तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन, न त शान्तिको मेरो करार हटाइनेछ” तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ। 
“हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु; तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु। 
म तेरा सुरक्षा पर्खालहरू लालमणिले, तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु। 
तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। 
तँ धार्मिकतामा स्थापित गरिनेछस्: अत्याचार तँबाट टाढा रहनेछ; तँ कुनै कुरामा डराउनुपर्नेछैन। आतङ्क टाढा हटाइनेछ, र त्यो तेरो छेउ पर्नेछैन। 
यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन; तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ। 
“हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ, जसले कोइला फुकेर ज्वाला बनाउँछ, र काम गर्ने ठिक हतियार बनाउँछ। उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ; 
तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन; अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्। याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो, र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो” याहवेह घोषणा गर्नुहुन्छ। 
