﻿यशैया.
51.
“हे धार्मिकताको पछि लाग्नेहरू र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: तिमीहरू जुन चट्टानबाट निकालिएका र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर। 
तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ। 
निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ, र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ; उहाँले त्यसका मरुभूमिहरूलाई अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ। अनि त्यसमा आनन्द, खुशीयाली, धन्यवाद र गीतको ध्वनि पाइनेछन्। 
“हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ। 
मेरो धार्मिकता नजिक छ, मेरो उद्धार आउँदैछ; अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। टापुहरूले मतिर हेर्नेछन्, र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्। 
तिमीहरूका आँखा आकाशतिर उठाओ, तल पृथ्वीमा हेर; आकाश धुवाँझैँ लोप भइजानेछ; पृथ्वी लुगाझैँ मक्‍किएर जानेछ, र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। तर मेरो उद्धार सदासर्वदा रहनेछ; मेरो धार्मिकता कहिल्यै चुक्नेछैन। 
“जे असल छ, त्यो जान्‍नेहरू र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूका बदनामदेखि नडराओ, न त तिनीहरूको अपमानदेखि भयभीत होओ। 
किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।” 
जाग, जाग! हे याहवेहको बाहुली, आफैँलाई शक्ति धारण गर; बितेका समयमा झैँ, पुराना पुस्ताहरूमा झैँ जाग! के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्‍न? जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो। 
के तपाईं त्यही हुनुहुन्‍न? जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो; अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो? 
याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्। 
“म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ? 
तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ, जसले आकाश फिँजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो; तिमीहरूलाई नाश गर्न इच्छुक रहने अत्याचारीहरूका क्रोधसित तिमीहरू दिनहुँ डराएर बस्छौ? ती अत्याचारीहरूका क्रोध कहाँ छ? 
डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्; तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्, न त तिनीहरूलाई रोटीको अभाव हुनेछ। 
किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्; जसको नाम सेनाहरूका याहवेह हो। 
मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु; अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु; मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, जसले पृथ्वीको जग बसालेको छु, र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ” 
जाग्, जाग्! हे यरूशलेम उठ्, तिमीहरू जसले याहवेहको हातबाट, उहाँको क्रोधको कचौरा पिएका छौ; तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्य पूरै पिएर रित्याएका छौ। 
त्यसले जन्माएका छोराहरूमध्ये त्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन; त्यसले हुर्काएका छोराहरूमध्ये त्यसको हात समात्ने कोही पनि थिएन। 
यी दुवै विपत्तिहरू तँमाथि आएका छन्— तँलाई कसले सान्त्वना दिन सक्छ? विध्वंश र सर्वनाश, अनिकाल र तरवार— कसले तँलाई सान्त्वना दिन सक्छ र? 
तेरा छोराहरू बेहोस छन्; तिनीहरू पासोमा परेका मृगझैँ हरेक गल्‍लीका कुनामा पल्टिरहेका छन्। तिनीहरू याहवेहको क्रोध, र तेरा परमेश्‍वरको हप्कीले भरिएका छन्। 
यसकारण यो कुरा सुन्, तँ दुःखित र दाखमद्यविना मात्तिएकी होस्। 
आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने, तेरा सर्वशक्तिमान् परमेश्‍वर, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “हेर्, तँलाई धरमराइदिने कचौरालाई मैले तेरो हातबाट निकालिदिएको छु; त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाट तैँले फेरि कहिल्यै पिउनेछैनस्। 
तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’ अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ, हिँड्नलाई सडकझैँ बनाइस्।” 
