﻿यशैया.
44.
“तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्। 
तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्‍नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा! 
किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्‌हरू तेरा वंशमाथि खन्याउनेछु। 
तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्। 
कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ। 
“इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्‍नुहुन्छ: पहिलो र पछिल्‍लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्‍वर छैन। 
मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्। 
थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।” 
मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्। 
आफूलाई केही फाइदा नहुने देवतालाई, कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ? 
त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्। 
लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ। 
सिकर्मीले सूत तानेर सिसाकलमले चिन्ह लगाउँछ। उसले रामोले चिल्‍लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ। 
उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ। 
त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ। 
आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।” 
बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्‍वर हुनुहुन्छ।” 
तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्। 
कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्‍ने ज्ञान र समझशक्ति कसैसित छैन। 
उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्‍न सक्दैन। 
“हे याकोब, यी कुराहरू सम्झना गर्; किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; हे इस्राएल, म तँलाई बिर्सनेछैनँ। 
मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।” 
हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्‍च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ। 
“तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्‍नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो; 
जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्‌हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ; 
“जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्‍नुहुन्छ। 
जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’, 
जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्‍नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’ 
