﻿यशैया.
43.
तर अब, हे याकोब, तँलाई रच्नुहुने, हे इस्राएल, तँलाई सृष्‍टि गर्नुहुने, याहवेह यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्। 
तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन। 
किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ; इस्राएलका पवित्र परमेश्‍वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ। 
मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। 
नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्‍चिमबाट भेला गराउनेछु। 
म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्‍नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ; 
मेरो नामले बोलाइएको हरेकलाई, जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्‍टि गरेँ, जसलाई मैले नै रचेँ।” 
आँखा भएर अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई डोर्‍याएर निकाल। 
सबै जातिहरू एकसाथ जम्मा होऊन्; अनि मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो; अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्‍यो? तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्, ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्। 
“तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्‍न सक; अनि मलाई विश्‍वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्‍वर रचिएको थिएन, न त मपछि कोही हुनेछ। 
म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन। 
मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्‍वर हुँ, 
हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?” 
याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु। 
म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।” 
याहवेह यसो भन्‍नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, 
रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए: 
“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ। 
हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु। 
जङ्गली जनावरहरू, स्यालहरू र उल्‍लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु। 
मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्। 
“तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्; हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्। 
तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। मैले तँलाई अन्‍नबलिको बोझ बोकाएको छैनँ, न त धूपको माग गरेर तँलाई थकित पारेको छु। 
तैँले मेरा निम्ति बास्‍ना आउने बोझो ल्याएको छैनस्, न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्। 
“म उही हुँ, जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ। 
मेरो निम्ति पहिलेका कुरा विचार गर्, हामी आपसमा यस विषयमा तर्क गरौँ; तेरो निर्दोषताको मुद्दा बता। 
पहिलेका तेरो पुर्खाले पाप गरे; तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे। 
यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु; अनि याकोबलाई नाशको निम्ति र इस्राएललाई गिल्‍लाहका निम्ति सुम्पिदिनेछु। 
