﻿यशैया.
38.
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।” 
हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, 
“हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए। 
तब याहवेहको वचन यशैयाकहाँ आयो: 
“जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु। 
अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु। 
“ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ: 
म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो। 
आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे: 
मैले भनेँ, “मेरो जीवनको बीचमा के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?” 
मैले भनेँ, “म फेरि जीवितहरूको देशमा याहवेहलाई देख्नेछैनँ, अब उसो मानव-जातिलाई देख्नेछैनँ, वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु। 
मेरो घर गोठालाको पालझैँ उखेलिएर मबाट लगिएको छ। तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ। 
मैले बिहानसम्म धैर्यसाथ पर्खेँ, तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ। 
म गौँथली वा सारसझैँ चिरबिर कराएँ; मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ। स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए। म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!” 
तर म के भन्‍न सक्छु र? उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो। मेरो प्राणको चिन्ताको कारण म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु। 
हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्; र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ। तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो र मलाई बचाउनुभयो। 
निश्‍चय मेरै शान्तिको निम्ति मैले यस्तो वेदना खप्नुपर्‍यो। तपाईंले आफ्नो प्रेममा मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; किनकि तपाईंले मेरा सबै पापलाई आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो। 
किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्। 
जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, जसरी आज म गरिरहेछु; बुबाहरूले आफ्ना सन्तानलाई तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्। 
याहवेहले मलाई बचाउनुहुनेछ; अनि हामी याहवेहको मन्दिरमा आफ्ना जीवनकालभरि तार-बाजाहरूसित गाउनेछौँ। 
यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।” 
हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?” 
