﻿यशैया.
37.
जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए। 
तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। 
तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमामा बच्‍चा जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ। 
सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।” 
जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए, 
तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्। 
सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ” 
त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए। 
अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। त्यो सुनेपछि तिनले यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए: 
“यहूदाका राजा हिजकियालाई यसो भन्‍नू: तिमीले भर पर्ने परमेश्‍वरले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई छल गर्न नपाऊन्। 
अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त? 
के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए? 
हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?” 
हिजकियाले ती दूतहरूबाट पत्र पाए र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिरमा गए, र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए। 
तब हिजकियाले याहवेहसित प्रार्थना गरे: 
“हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने, तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। 
हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका सबै कुराहरू सुन्‍नुहोस्। 
“हे याहवेह, अश्शूरका राजाहरूले सबै मानिसहरू र तिनका देशहरूलाई उजाड पारेका कुरा साँचो हो। 
तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए। 
अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।” 
तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्, 
यसकारण याहवेहले त्यसको विरुद्ध यो कुरा बोल्नुभएको छ: “सियोनकी कन्या छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। तँ भाग्दा यरूशलेमकी छोरीले आफ्नो शिर हल्‍लाउँछे। 
तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस्, र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा निन्दा गरेको छस्! 
आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, ‘म आफ्ना धेरै रथहरूसित पहाडहरूका शिखरहरूमा उक्लेको छु; अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका अति सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। म त्यसका दुर्गम उचाइहरूमा, त्यसका सर्वोत्तम वनहरूमा पुगेको छु। 
मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।’ 
“के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ। अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्। 
त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्न अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्। 
“तर तँ कहाँ बस्छस्, तँ कहिले आउँछस् र जान्छस्; अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु। 
तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई, तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु। 
“हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्; र दोस्रो वर्ष तैँले त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर र कटनी गर, दाखबारी लगा र त्यसको फल खा। 
एकपल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्, र जमिनमाथि फल फलाउनेछन्। 
किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ। 
“यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: “त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्‍नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ। 
त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; त्यसले यस सहरमा प्रवेश गर्नेछैन,” याहवेह घोषणा गर्नुहुन्छ। 
“म यस सहरलाई, मेरो खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गरेर बचाउनेछु!” 
त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे! 
यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे। 
एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। अनि तिनका छोरा एसरहदोन तिनीपछि राजा भए। 
