﻿यशैया.
27.
त्यस दिन याहवेहले आफ्नो कठोर, उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई दण्ड दिनुहुनेछ; त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ। 
त्यस दिन, “फलवन्त दाखबारीको विषयमा गीत गाओ: 
म, याहवेहले त्यसको हेरचाह गर्छु; म त्यसमा निरन्तर पानी हाल्छु। त्यसलाई कसैले हानि नगरोस् भनेर म त्यसलाई दिनरात पहरा दिन्छु। 
म रिसाएको छैनँ। यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त! म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ; म तिनीहरूलाई जलाउनेथिएँ। 
त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्; तिनीहरूले मसित मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।” 
आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ, इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ; अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्। 
के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ, उहाँले त्यसलाई हिर्काउनुभएको छ? के त्यसलाई मार्नेहरू मारिएझैँ, त्यो मारिएको छ? 
युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ, पूर्वीय बतास चलेको दिनझैँ, आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ। 
तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ; अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ: जब उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ; त्यहाँ कुनै अशेरा देवीको खम्बा अथवा धूपको वेदी खडा हुनेछैन। 
सुरक्षित सहर निर्जन भयो, निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो; त्यहाँ बाछाहरू चर्छन्, त्यहाँ तिनीहरू विश्राम गर्छन्; तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्। 
त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्; अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्। किनकि यो एउटा निर्बुद्धि जाति हो; यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन; तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न। 
त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। 
त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्। 
