﻿यशैया.
12.
त्यस दिन तिमीहरू भन्‍नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ। 
निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।” 
आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ। 
त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर। 
याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्। 
हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।” 
