﻿यशैया.
10.
धिक्‍कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्; 
गरिबहरूबाट अधिकार खोस्‍न र सताइएका मेरा मानिसहरूबाट न्याय रोक्न, विधवाहरूलाई आफ्ना शिकार बनाउन, र अनाथहरूलाई लुट्नका निम्ति तिनीहरू यसो गर्छन्। 
लेखा दिनुपर्ने दिनमा विपत्ति टाढाबाट आउँदा तिमीहरू के गर्छौ? तिमीहरू सहायताका लागि कसकहाँ दौडेर जान्छौ? तिमीहरू आफ्ना सम्पत्ति कहाँ छोड्छौ? 
कैदीहरूको बीचमा झुक्नुबाहेक र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ। 
“धिक्‍कार अश्शूरलाई, मेरो रिसको लहुरो, जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो! 
लुटको माल खोस्‍न र लुटपाट गरी ध्वस्त गर्न; अनि गल्‍लीको हिलोझैँ कुल्चीमिल्ची गर्न, ईश्‍वरहीन जाति तथा मलाई रिस उठाउने मानिसहरूको विरुद्धमा, मैले त्यसलाई पठाएको छु। 
तर त्यसको यस्तो विचार छैन, र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; त्यसको उद्देश्य नाश गर्नु हो, धेरै जातिहरूलाई नाश गर्नु हो। 
त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजाहरू होइनन् र? 
के कल्नोको दशा कर्कमीशको जस्तै भएन र? के हमात अर्पादझैँ र सामरिया दमस्कसझैँ छैन र? 
जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्दा धेरै थिए— 
मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ के म यरूशलेम र त्यसका मूर्तिहरूसित पनि त्यस्तै नगरूँ?’ ” 
प्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सबै कामहरू सिद्ध्याउनुभएपछि उहाँले भन्‍नुहुनेछ, “म अश्शूरको राजालाई त्यसको हृदयको इच्छाअनुसारको घमण्ड र त्यसको आँखामा चढेको अभिमानी हेराइका निम्ति दण्ड दिनेछु। 
किनकि त्यसले भन्छ: “ ‘मेरो हातको बलले र मेरो बुद्धिले मैले यो गरेको हुँ; किनकि मसित समझशक्ति छ। मैले राष्ट्रहरूका सिमानाहरू हटाइदिएको छु, मैले तिनीहरूका खजाना लुटेको छु; एक शूरवीरले झैँ मैले तिनीहरूका राजाहरूलाई वशमा पारेको छु। 
कसैले चराका गुँड फेला पारेझैँ, मेरो हात जातिहरूको धनसम्पत्तिमा पुग्यो; मानिसहरूले छोडेका अण्डाहरू बटुलेझैँ, मैले सबै देशहरूलाई भेला गरेको छु; एउटैले पनि पखेटा फ्याट-फ्याट गरेन, अथवा चूँ-चूँ गर्नलाई मुख खोलेन।’ ” 
के बन्चरो आफैँ त्यसलाई चलाउनेभन्दा माथि उठ्न सक्छ, अथवा आराले त्यसलाई प्रयोग गर्नेभन्दा बढी घमण्ड गर्न सक्छ? मानौँ, लहुरो उठाउनेलाई लहुरोले नै चलाएजस्तो, अथवा जो काठ होइन, त्यसलाई मुङ्ग्रोले चलाएजस्तो! 
यसकारण प्रभु, सेनाहरूका याहवेहले त्यसका प्रबल योद्धाहरूमाथि कमजोर हुने रोग पठाउनुहुनेछ; त्यसको गौरवमुनि बल्दो ज्वालाजस्तै आगो सल्काउनुहुनेछ। 
इस्राएलको ज्योति आगो हुनेछ, र तिनीहरूका पवित्र परमेश्‍वर ज्वाला बन्‍नुहुनेछ; एकै दिनमा काँडाहरू र त्यसका सिउँडीहरूलाई जलाएर भस्म पारिदिनुहुनेछ। 
वनहरू र मलिलो खेतहरू सम्पूर्ण रूपले नष्‍ट हुनेछ, त्यो बिरामी मानिस दुब्लाएर गएझैँ हुनेछ। 
अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ। 
त्यस दिन इस्राएलको अवशेष, याकोबका घरानाका बचेका भागले तिनीहरूलाई प्रहार गर्नेमाथि फेरि भरोसा गर्नेछैनन्, तर साँचो रूपले याहवेह, इस्राएलका पवित्र परमेश्‍वरमाथि भरोसा गर्नेछन्। 
बाँकी मानिसहरू फर्कनेछन्, याकोबका बचेका मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरतिर फर्कनेछन्। 
हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि केवल एउटा अवशेष मात्र फर्कनेछ। सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ। 
प्रभु, सेनाहरूका याहवेहले सम्पूर्ण देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ। 
यसकारण प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हे सियोनमा बस्‍ने मेरो प्रजा हो, अश्शूरसित तिमीहरू नडराओ, जसले तिमीहरूलाई लाठोले हिर्काउनेछ; अनि तिमीहरूको विरुद्ध इजिप्टले गरेझैँ मुङ्ग्रो उठाउनेछ। 
अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ, र मेरो क्रोध तिनीहरूको सर्वनाशतिर लाग्नेछ।” 
उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ, सेनाहरूका याहवेहले तिनीहरूलाई कोर्रा लाउनुहुनेछ; अनि उहाँले इजिप्टमा गर्नुभएझैँ, आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ। 
त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; अनि तिमीहरू मोटाएको कारणले जुवा भाँचिनेछ। 
तिनीहरू अय्यातभित्र पस्छन्; तिनीहरू मिग्रोनबाट भएर जान्छन्; तिनीहरूले आफ्नो खाद्य-सामग्री मिकमाशमा जम्मा गर्छन्। 
तिनीहरू घाटीबाट गएर भन्‍नेछन्, “हामी रातभरि गेबामा छाउनी लगाएर बस्‍नेछौँ।” रामा डराएको छ; शाऊलको गेबा भागेको छ। 
हे गल्‍लीमकी छोरी सोर उचालेर चिच्‍या! हे लैशा, ध्यान दिएर सुन्! बिचरा अनातोत! 
मदमेना भाग्दैछ; गेबीमका मानिसहरू लुक्दैछन्। 
त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; तिनीहरूले आफ्ना मुक्‍का सियोनकी छोरीको पर्वततिर, यरूशलेमको डाँडातिर देखाउनेछन्। 
हेर, प्रभु, सेनाहरूका याहवेहले डरलाग्दो आवाज निस्कने गरी हाँगाहरू लाछ्नुहुनेछ। अग्ला-अग्ला रूखहरू ढालिनेछन्, र उच्‍च पारिएकाहरूलाई होच्याइनेछ। 
उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ; परमेश्‍वरको सामु लेबनान ढल्नेछ। 
