﻿यशैया.
5.
अब म मेरो प्रियको निम्ति र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: एउटा मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो। 
उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो; अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो। उहाँले त्यसमा एउटा मचान बनाउनुभयो; अनि एउटा कोल पनि खोप्नुभयो। तब उहाँले असल दाखको आशा राख्नुभयो, तर त्यसले खराब फल फलायो। 
“अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ। 
मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो? 
अब म तिमीहरूलाई भन्‍नेछु, कि आफ्नो दाखबारीलाई म के गर्नेछु। म त्यसको बार निकालिदिनेछु, र त्यो नाश हुनेछ; म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची पारिनेछ। 
म त्यसलाई नछिमलेको र नगोडिएको उजाडभूमि बनाइदिनेछु; अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर, म बादललाई आज्ञा गर्नेछु।” 
सेनाहरूका याहवेहको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँलाई मनपर्ने बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो। 
धिक्‍कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ। 
सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ: “निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्। 
पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्‍न मात्र दिनेछ।” 
धिक्‍कार तिनीहरूलाई, जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, जो मद्यले नमातुन्जेल आधा रातसम्म बस्छन्। 
तिनीहरूसित भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; उहाँका हातका कामप्रति कुनै आदर हुँदैन। 
यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्। 
यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्। 
यसरी मानिस होच्याइनेछ; अनि हरेक जन नम्र बनाइनेछ, अभिमानीका आँखा नम्र पारिनेछन्। 
तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ, पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ। 
तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्। 
धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्, 
जसले यसो भन्छन्, “परमेश्‍वरले हतार गरून्; उहाँले आफ्नो काम चाँडो गरून्, ताकि हामीले त्यो देख्न सकौँ। इस्राएलका पवित्र परमेश्‍वरको योजना आओस्, त्यो नजिक आओस्, ताकि हामीले जान्‍न सकौँ।” 
धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल र असललाई दुष्‍ट भन्छन्, जसले उज्यालोको सट्टा अँध्यारोलाई र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; जसले मिठोको सट्टामा तितो, र तितोको सट्टा मिठो राख्छन्। 
धिक्‍कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; अनि आफ्नै दृष्‍टिमा चतुर छन्। 
धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; अनि मद्य मिसाउन सिपालु छन्, 
जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, तर निर्दोषलाई न्याय दिँदैनन्। 
यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ तिनीहरूका जरा सडिजाने छन्, र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; अनि इस्राएलका पवित्र परमेश्‍वरको वचनलाई लत्याएका छन्। 
यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। पर्वतहरू काँप्छन्, र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ। 
उहाँले टाढाका जातिहरूको निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ; उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। तिनीहरू द्रूत गतिले आउँछन्! 
तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, कोही पनि झुल्दैनन्, न त निदाउँछन्। एउटै पेटी पनि खुकुलो हुँदैन, जुत्ताका एउटै फित्ता पनि चुँडिदैन। 
तिनीहरूका काँडहरू तीखा छन्, सबै धनुहरूमा ताँदो चढाइएका छन्; तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ। 
तिनीहरूका गर्जन सिंहको झैँ छ, तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्। 
त्यस दिन तिनीहरू त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्। अनि यदि कसैले देशलाई हेर्‍यो भने, त्यसले अन्धकार र सङ्कष्‍ट देख्नेछ; यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ। 
