﻿यशैया.
2.
यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो: 
अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्। 
धेरै जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। 
उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। 
हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ। 
हे याहवेह, तपाईंले आफ्नो प्रजा याकोबका घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वका अन्धविश्‍वासले भरिएका छन्; तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् र तिनीहरूका रीतिरिवाज अपनाउँछन्। 
तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन। 
तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्। 
यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्! 
याहवेहको डरबाट र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्! 
घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ। 
सबै अभिमानी र वैभवशालीहरूका निम्ति, र उच्‍च पारिएकाहरू सबैका निम्ति, सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्। 
लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति, 
धरहराझैँ उठेका सबै पर्वत, र सबै अग्ला डाँडाहरूका निम्ति, 
प्रत्येक ठूला धरहरा, र प्रत्येक सुरक्षित पर्खालका निम्ति, 
तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति। 
मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ; 
अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्। 
जब पृथ्वी हल्‍लाउनलाई याहवेह उठ्नुहुन्छ, तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट मानिसहरू चट्टानका गुफाहरूतिर र पृथ्वीका प्वालहरूभित्र पस्‍नेछन्। 
त्यस दिन मानिसहरूले आफ्ना लागि पुज्न भनी बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्। 
याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा उहाँको डर र उहाँको वैभवको प्रतापबाट तिनीहरू चट्टानका कन्दराहरूतिर र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्। 
नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र? 
