﻿श्रेष्‍ठगीत.
4.
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छौ, ओह, कत्ति सुन्दरी! घुम्टोभित्र तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। तिम्रा केश गिलाद डाँडाबाट ओरालो झरेको बाख्राको बगालजस्तै छ। 
तिम्रा दाँतहरू भर्खर ऊन कत्रेर नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्; कुनै पनि एकलो छैन। 
तिम्रा ओठ राता रिबनझैँ छन्; तिम्रो मुख कत्ति सुन्दर छ। घुम्टोभित्र लुकेको तिम्रो गाला दुई फ्याक पारेको अनारझैँ छ। 
तिम्रो गला दावीदको धरहराजस्तै छ, जो ढुङ्गैढुङ्गाले मिलाएर बनाइएको थियो; त्यसमा हजार वटा ढालहरू झुण्ड्याइएका छन्। ती सबै वीर योद्धाहरूका ढाल हुन्। 
तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै, जो लिली फूलहरूको बीचमा चर्दछन्। 
जबसम्म बिहान हुँदैन, र अन्धकार हराउँदैन; म मूर्र भएको पहाड र धूपको डाँडामा जानेछु। 
हे मेरी मायालु, तिमी असाध्यै सुन्दरी छ्यौ; तिमीमा कुनै खोट छैन। 
हे मेरी दुलही, मसित लेबनानबाट आऊ, लेबनानबाट मसित आऊ! अमानाको शिखरबाट, सेनीर र हेर्मोनका टाकुराबाट, सिंहका गुफाबाट र चितुवाका पहाडी ओडारबाट तल आऊ। 
हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ; तिम्रा आँखाको एक नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ। 
तिम्रो प्रेम कति आनन्दमय छ, मेरी प्रिय, मेरी दुलही! तिम्रो प्रेम दाखमद्यभन्दा धेरै उत्तम छ! अनि तिम्रो अत्तरको बास्‍नाचाहिँ अरू मसलाभन्दा धेरै सुगन्धित छ! 
मेरी दुलही, तिम्रा ओठबाट मौरीका चाकाको मिठास चुहुन्छ; तिम्रो जिब्रोमुनि दूध र मह छन्। अनि तिम्रा वस्त्रहरूको बास्‍नाचाहिँ लेबनानको बास्‍नाझैँ छ। 
मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ; तिमी छोपिएको पानीको मूल, मोहर लगाएर बन्द राखेको पानीको मुहानझैँ छ्यौ। 
तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्; जसमा उत्तम फलहरू, मेहदी र जटामसीको बगैँचा; 
जटामसी र केशर, बोझो र दालचिनी, सबै प्रकारका सुगन्धित धूपका रूखहरू, मूर्र र चन्दन अनि सर्वोत्तम मसालाहरूले भरिभराउ बगैँचा छन्। 
तिमी बगैँचाको मुहान, लेबनानका पहाडी क्षेत्रबाट बगेर आउने पानीको मुहान हौ। 
हे उत्तरको बतास, जाग्! हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट भएर बहिदे, ताकि यसको बास्‍ना चारैतिर फैलियोस्। मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, र त्यहाँका उत्तम फलहरू चाखून्! 
