﻿श्रेष्‍ठगीत.
2.
म त शारोनको गुलाफ, बेँसीहरूको लिली फूल हुँ। 
युवतीहरूका बीचमा मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्। 
युवकहरूका बीचमा मेरा प्रिय, जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ। उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ। 
उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो; र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो। 
प्रेम रोगले गर्दा म शिथिल भएकी छु, यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; स्याउ दिएर ताजा पार्नुहोस्! 
उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ। 
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु; उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ! 
सुन, मेरा प्रियतम! हेर, उहाँ आउँदैहुनुहुन्छ; पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै, उहाँ आउँदैहुनुहुन्छ! 
मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ। हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ; झ्यालहरूबाट हेर्दै हुनुहुन्छ; अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ। 
मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो, “हे मेरी प्रियसी उठ, हे मेरी सुन्दरी, मसित आऊ! 
हेर, हिउँद बित्यो, वर्षा पनि सकियो। 
पृथ्वीमा फूलहरू देखा परेका छन्; गीत गाउने समय आएको छ। हाम्रो भूमिमा ढुकुरहरू कुर्लेको सोर सुनिन्छ। 
अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो; दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो। उठ, आऊ, मेरी प्रिय, हे मेरी सुन्दरी, मसित आऊ!” 
चट्टानका चिराहरूमा, भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर; मलाई तिम्रो अनुहार देखाऊ! तिम्रो सोर सुन्‍न पाऊँ; किनकि तिम्रो सोर मिठो छ; र तिम्रो मुहार सुन्दर छ। 
हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; साना फ्याउराहरू, जसले दाखबारीमा फूलहरू फुलेका बेला हाम्रा दाखबारीहरू नाश पार्दछन्। 
मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ। 
जबसम्म बिहान हुँदैन, र छायाहरू हराउँदैनन्, हे मेरा प्रियतम, फर्कनुहोस्; र मृगझैँ, अथवा भिरालो डाँडाहरूमाथि हुने घोर्ले जरायोझैँ हुनुहोस्! 
