﻿श्रेष्‍ठगीतको पुस्तक.
1.
सोलोमनको श्रेष्‍ठगीत। 
उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ। 
तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ; अत्तर खन्याइएको बास्‍नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्‍नुपर्दैन! 
मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। मित्रहरू तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। प्रेमिका तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्! 
हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै। 
म काली भएकीले छक्‍क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्‍यो। 
हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ? 
हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्‍याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ। 
हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु। 
तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्। 
हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ। 
महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा, मेरो अत्तरको सुबास्‍ना फैलिन्छ। 
मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ। 
मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ। 
हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। 
हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ। 
हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्‍ला रूखका छाना छन्। 
