﻿उपदेशक.
12.
आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै— 
सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै, 
जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्; 
जब गल्‍लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्; 
जब मानिसहरू अग्लो ठाउँसित र बाटाका खतरासित डराउँछन्, जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, अनि मनको चाहना अब उसो जाग्दैन; किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, अनि शोक गर्ने मलामीहरू गल्‍लीमा यताउता लाग्नेछन्। 
आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्‍का भाँचिनुअगि, 
धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्‍वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो। 
“अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्। “सबै अर्थहीन छन्!” 
उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे। 
तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए। 
बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्। 
हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ। 
अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो। 
किनकि परमेश्‍वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ, प्रत्येक गुप्‍त कुरासमेत, चाहे त्यो असल होस् वा खराब।
