﻿हितोपदेश.
28.
कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ। 
कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ। 
गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो। 
व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। 
दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्। 
धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो। 
विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्। 
ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ। 
यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्। 
जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ। 
धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ। 
धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्। 
आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ। 
धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ। 
असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ। 
अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ। 
हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्। 
निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्। 
आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्। 
विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन। 
पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ। 
लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन। 
कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ। 
आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो। 
लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ। 
आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ। 
जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ। 
दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्। 
