﻿हितोपदेश.
23.
जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर। 
यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। 
तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ। 
धनी बन्‍न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ। 
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ। 
लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर; 
किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन। 
तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। 
मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ। 
प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच, 
किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ। 
तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ। 
बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्। 
छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। 
हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ, 
तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, मेरो अन्तस्करण त्यसै समय रमाउनेछ। 
तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ। 
निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। 
हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ। 
धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर; 
किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ। 
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर। 
सत्य किन, र त्यसलाई नबेच; बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर। 
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो! 
तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्। 
हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन; 
किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो। 
त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे। 
कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्? 
तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्; जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्। 
दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर। 
अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ। 
तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ। 
महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ। 
तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?” 
