﻿हितोपदेश.
17.
शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। 
विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ। 
चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ। 
दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ। 
गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन। 
नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्। 
भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ! 
घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ। 
अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ। 
मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ। 
खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ। 
मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो। 
यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन। 
झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ। 
दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ। 
मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन। 
मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्। 
विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। 
झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ। 
भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ। 
मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन। 
प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ। 
दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ। 
विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। 
मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्। 
निर्दोष मानिसलाई दण्ड दिनु, वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन। 
समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ। 
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ। 
