﻿हितोपदेश.
14.
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। 
याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्। 
मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ। 
जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ। 
साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ। 
गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ। 
मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन। 
विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। 
दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ। 
प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन। 
दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ। 
कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ। 
मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। 
विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ। 
सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ। 
बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ। 
झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ। 
रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्। 
खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्। 
गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्। 
आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ। 
के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्। 
सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ। 
बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ। 
साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ। 
याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ। 
याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। 
ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ। 
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ। 
शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ। 
गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ। 
जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ। 
बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ। 
धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ। 
बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ। 
