﻿हितोपदेश.
13.
बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ। 
आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्। 
आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ। 
अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। 
धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ। 
धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ। 
कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ। 
कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन। 
धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्‍टको बत्ती निभाइन्छ। 
अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ। 
बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ। 
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो। 
अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ। 
बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। 
असल न्यायले निगाह प्राप्‍त गर्छ; तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ। 
हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ। 
दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ। 
अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। 
पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ। 
बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ। 
पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो। 
असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ। 
गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ। 
आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ। 
धर्मीले पेटभरि खान्छ; तर दुष्‍टको पेट भोकभोकै हुन्छ। 
