﻿हितोपदेश.
9.
बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ। 
त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ। 
त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ। 
“सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ: 
“आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ। 
आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड। 
गिल्‍ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्‍टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। 
गिल्‍ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ। 
बुद्धिमान्‌लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ। 
याहवेहको भय नै बुद्धिको सुरुवात हो, र पवित्र परमेश्‍वरको ज्ञान नै समझशक्ति हो। 
किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्। 
यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ। 
अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे। 
त्यो आफ्नो घरको ढोकामा बस्छे, सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे, 
आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे। 
“सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे: 
“चोरीको पानी मिठो हुन्छ, गुप्‍तमा खाएको भोजन स्वादिष्‍ठ हुन्छ!” 
तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्। 
