﻿भजनसंग्रह.
144.
दावीदको भजन। याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ। 
उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ। 
हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ? 
तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्। 
हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्। 
बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्! 
उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्। 
जसका मुख झूटले भरिएका छन्, जसका दाहिने हात छली छन्। 
हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु, 
उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट 
मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ। 
तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। 
हाम्रा धनसारहरू हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्; 
हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन। 
धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ! 
