﻿भजनसंग्रह.
139.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्छ। 
तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। 
तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ। 
मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्‍नुहुन्छ। 
तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ। 
मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ। 
तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? 
यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। 
यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि, 
त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ। 
यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि 
अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो। 
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्‍नुभयो। 
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु। 
मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ; 
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए। 
हे परमेश्‍वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ! 
यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु। 
हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभए त कति असल हुनेथियो! हे रक्तपिपासुहरू हो, मबाट दूर भइजाओ! 
दुष्‍ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्; तपाईंका शत्रुहरूले तपाईंको नामको दुरुपयोग गर्दछन्। 
हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र? र तपाईंको विरोध गर्नेहरूलाई, के म तुच्छ ठान्दिनँ र? 
मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन; म तिनीहरूलाई मेरै शत्रु ठान्दछु। 
हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्; मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्‍नुहोस्। 
हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्‍याउनुहोस्! 
