﻿भजनसंग्रह.
138.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु। 
म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ। 
जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो। 
हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्। 
तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ। 
याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ। 
म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ। 
याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्। 
