﻿भजनसंग्रह.
137.
बेबिलोनका नदीहरूको किनारमा बसेर, हामी सियोनलाई सम्झँदै रोयौँ। 
त्यहाँका लहरे पीपलहरूमा हामीले आफ्ना वीणाहरू झुण्ड्यायौँ, 
किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!” 
बिरानो देशमा हुँदा कसरी हामी याहवेहको गीत गाउन सक्छौँ? 
हे यरूशलेम, यदि मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्नो सिप भूलोस्। 
यदि मैले तँलाई नसम्झेको भए, यदि मैले यरूशलेमलाई आफ्नो सर्वोच्‍च आनन्द नमानेको भए, मेरो जिब्रो मुखको तालुमा टाँसिजाओस्! 
हे याहवेह, यरूशलेमको पतन भएको दिन, एदोमीहरूले के गरे, सम्झनुहोस्। तिनीहरूले चीत्कार गरे, “त्यसलाई भत्काओ, जगदेखि नै त्यसलाई भत्काओ!” 
सर्वनाश हुन लागेकी, हे बेबिलोनकी छोरी, तैँले हामीमाथि जे गरिस्, त्यसको लागि तँमाथि प्रतिशोध लिने मानिस धन्य हुनेछ। 
त्यो धन्य हुनेछ, जसले तेरा स-साना बच्‍चाहरूलाई खोस्छ र तिनीहरूलाई चट्टानमा पछार्दछ। 
