﻿भजनसंग्रह.
132.
आरोहणको गीत। हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्। 
तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे: 
“म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ, वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ, 
म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ; 
जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।” 
हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ: 
“हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ, 
‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्। 
तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ” 
आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्! 
याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु। 
यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।” 
किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ; 
“यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु। 
प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु। 
त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्। 
“यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु। 
म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।” 
