﻿भजनसंग्रह.
129.
आरोहणको गीत। “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्; 
“तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्। 
हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। 
तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।” 
सियोनलाई घृणा गर्नेहरू सबै लज्जित भएर फर्किऊन्! 
तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्; 
त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ। 
त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।” 
