﻿भजनसंग्रह.
128.
आरोहणको गीत। याहवेहको भय मान्‍नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्। 
तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्। 
तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्। 
हो, याहवेहको भय मान्‍ने जन यसरी नै आशिषित हुनेछ। 
याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ। 
तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्! 
