﻿भजनसंग्रह.
126.
आरोहणको गीत। जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो। 
त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।” 
याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ। 
हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्! 
जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्। 
जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्। 
