﻿भजनसंग्रह.
121.
आरोहणको गीत। म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ? 
मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। 
उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन; 
साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ। 
याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ; 
दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ। 
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ; 
तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ। 
